राज्यको थर्मामिटरले काम गरिरहेको छ ?

यो लोकतन्त्रले गरिरहेको विकास साँच्चिकै भुइँमान्छेको हिस्साको विकास हुँदै होइन । जाडोले होइन, गरिबीले मान्छे मर्छ । यहाँ जाडोले मानिसलाई चिस्याउँदैन, उसलाई नाङ्गो बनाउँछ— घरविहीन, आम्दानीविहीन र सुरक्षाविहीन !

यो कवितांश हिन्दीका प्रख्यात साहित्यकार विनोदकुमार शुक्लको हो, जो गत मंगलबार ९८ वर्षको उमेरमा बिते । यो महाप्रस्थान विश्वका एक शीर्ष कवि, कथाकारको बिदाइ हो ।

उनका लिखतहरूमा स्थानीय जीवनका दिनचर्या झल्किन्थ्यो । पर्यावरण, आदिवासी समाज, विस्थापन, किनारा गरिएका भुइँमान्छे र मानवीय मूल्यहरू जस्ता जटिल एवं उपेक्षित विषयमाथि उनका लेखनले झाँकी मात्रै देखाउँदैनन्, विवेक पनि जगाउँछ ।

उनका कलम सोर र सतहीपनभन्दा टाढा रहेर सत्य, संवेदना र सरोकारहरूका पक्षमा खडा रहन्छ । सत्ता–केन्द्रित साहित्य सिर्जनका यस कालखण्डमा समाज–केन्द्रित दृष्टि बनाएर राख्नु सजिलो छैन, तर विनोदकुमार शुक्लले यो साहस र इमानदारी अहर्निश देखाउँदै रहे । उनी यस्ता व्यक्तिका रूपमा बोल्दै रहे, जो अँध्यारो समयमा मधुरो आवाजमा सत्य भन्दै रहन्छन् । उनी आजीवन भारतको छत्तीसगढ राज्यमा रहे र त्यहींबाट आफ्नो एक अन्तर्राष्ट्रिय पहिचान बनाए ।

रचनाशीलताको जुन अभिनव उत्कर्ष र अद्वितीय भाषा–शिल्प उनले प्रस्तुत गरे, त्यसले पाठकलाई चकित र अभिभूत बनायो । एक पटक छत्तीसगढका मेरा पत्रकार मित्र आलोक पुतुलले उनीसँग जिज्ञासा राखेका थिए, ‘हाम्रो हिस्साको समय कहाँ छ त ?’ उनको जवाफ थियो, ‘अब हाम्रो समय रहेन यो । यो त फगत भन्नका लागि हो हाम्रो समय । हामीसँग अब समय छैन । हामीले समय अरूलाई दिइहालेका छौं ।

यो एक अर्को प्रकारको गुलामी हो । असलमा जुन गुलामी हुन्छ, त्यो ज्युँदो रहनका लागि नै हुन्छ । जब अरू कसैका भरोसामा ज्युँदो रहियो भने तब जसको भरोसा छ तिनका गुलाम भइहालियो नि । अचेल हामीले आफ्नो भरोसा हराउँदै गएका छौं, आफ्नो जीवनमा ।

हामीलाई आफैंमाथिको भरोसा उठ्दै गएको छ र हामी हुनु कोही ‘अन्य’ का भरोसामा निर्भर छ । यो कठिन समय हो ।’ बंगलादेशमा, जहाँ समाजले बर्बरीकरणको अध्याय व्यहोरिरहेको छ, त्यहींका सूचनाले हामी स्तब्ध, व्यग्र र उत्तेजित हुँदै गएका छौं । यस्तोमा एक भुइँमान्छेका शब्द शिल्पी बित्नुको खासै चर्चा नहुनु स्वाभाविक नै मानिदिनुपर्ला ।

अपने हिस्से की भूख के साथ

सब नहीं पाते अपने हिस्से का पूरा भात

यो पनि उनै विनोदकुमार शुक्लकै शब्द हो । शीतलहरको मौसम आएपछि मधेशको सन्दर्भ उजागर हुन्छ नै, यो नियमित आकस्मिकता हो । शीतलहरको चपेटा केवल तापक्रमको गिरावट होइन, यो राज्य–व्यवस्थाको संवेदनहीनता, विकासको असमानता र राजनीतिक प्राथमिकताको दरिद्रताको प्रतिबिम्ब हो ।

प्रत्येक वर्ष दोहोरिने शीतलहर अब प्राकृतिक विपत्ति मात्रै रहेन, यो मधेशमाथि थोपरिएको संरचनात्मक संकटको संकेतक बनिसकेको छ । असली प्रश्न यो होइन कि मधेशमा तापमान कति झर्‍यो, कति दिनसम्म सूर्य देखापर्‍यो वा कुहिरो कति बाक्लो छ ? सवाल हो— राज्यको संवेदना कतिको बाँचेको छ ? के राज्यको नैतिक थर्मामिटरले अहिले पनि काम गरिरहेको छ ? जाडोले एउटा प्रश्न छाड्दै गइरहेको छ— चिसोले मर्नु एक ‘सामान्य खबर’ मात्रै हो ?

वास्तवमा यो राज्यको आकाश मधेशी दलितहरूको हिस्सामा छैन । यो विपन्न दलितहरूका हिस्साको समय होइन । विकासको जुन दिशा छ, त्यस दिशाको कुनै अन्त्य छैन । र, जो अनन्त हामीसँग जोगिएको छ, त्यो विकासका नाममा, यति विकास हुन्छ कि त्यो नछोइएको अनन्त हामीबाट समाप्त हुँदै जान्छ र जे जस्तो विकसित हुन्छ, त्यसले हाम्रो पनि अन्त्य गरिदिन्छ । यो लोकतन्त्रले गरिरहेको विकास साँच्चिकै भुइँमान्छेको हिस्साको विकास हुँदै होइन । जाडोले होइन, गरिबीले मान्छे मर्छ । यहाँ जाडोले मानिसलाई चिस्याउँदैन, उसलाई नाङ्गो बनाउँछ— घरविहीन, आम्दानीविहीन र सुरक्षाविहीन !

शीतलहर मधेशमा मानवीय संकट बन्छ, पहाडमा पर्यटनको मौसम, आखिर किन ? के यो राजनीतिक विभेद होइन ? जब राज्यले कर्तव्य बिर्सिन्छ, त्यहींबाट मृत्यु सुरु हुन्छ । यसरी जाडोले होइन, राज्यले मान्छे मारिन्छ । यो नेपालको संवैधानिक समाजवाद कठ्यांग्रिएको हो ।

मधेश आज जाडोले होइन, राज्यको चिसोपनले काँपिरहेको छ । मधेश राज्यको योजनामा छैन, केवल संकटको नक्सामा छ । मधेशका नागरिक अगुवाहरू भन्छन्— मधेश सधैं ‘आपत्कालीन’ किन ? बाढी आउँदा आपत्कालीन, आगलागी हुँदा आपत्कालीन, जाडो आउँदा आपत्कालीन । तर, आपत्कालीन कहिल्यै संरचनात्मक सुधारमा रूपान्तरण हुँदैन किन ?

जुक्तिले लोकतन्त्र हिजो पनि अल्झिएको थियो । जुक्तिले भदौरे चट्याङ पश्चात् पनि सास लिइरहेको छ । कार्यकारीको निहितार्थलाई जब अदालतले शिरोधार्य गर्छ, जब अदालत र सेनाले मिलजुल गरेर एकताको भाष्य रच्छन्, तब यो समयको हिस्सा सबैको हिस्साको अनुकूलनमा रहँदैन ।

जनआन्दोलन–०६३ पछि पनि एउटा वर्चस्वशालीहरूको समूहले त्यो उभारबाट उत्पन्न ऊर्जालाई हाइज्याक गरेकै थियो, अहिलेको तरल अवस्थामा समेत जोकोही पनि आफ्नो अनुशासनको मियो चुँडालेर शक्ति हाइज्याक गर्न घम्साघम्सीमा छन् ।

सामान्य अवस्थामा कोही प्रधानन्यायाधीशबाट निवृत्त भइसकेपछि राजकीय प्रभामण्डल निस्तेज भइहाल्नु पर्ने हो, तर कोही अमूक पात्रलाई किन शक्तिशाली भनेर काठमाडौंमा तिनको ‘जीहुजुरी मा’ गरिन्छ ? भूतपूर्व प्रशासकहरू नखदन्तविहीन किन हुन नसकेको ? यस्ताहरूले कसको हिस्साका शक्ति हरण गर्न पुगेका हुन् ?

राजनीतिलाई निकै सरापियो । नेपालीहरू जहाँ बसे पनि गफिने र उपदेश दिने विषय नै बन्न पुग्छ राजनीति । तर, राजनीति मानवीय र करुणामय हुन सकेन । अर्काको घर जलाएर त्यसमा आगो ताप्नेहरू बढी देखिए । यस्तो मूल्यहीनताको समय कसरी आयो ? समाजमा पत्याउन भरोसा गर्नेहरूका अनिकाल किन पर्‍यो ?

धार्मिक कर्मकाण्ड ह्वात्तै बढेकै छ, साक्षरताको प्रतिशत बाक्लिएकै छ, पेसागत अध्ययन गर्नेहरू थपिएकै छन्, राजनीतिक विकल्पको कोलाहल सघन भइरहेकै छ । तर पनि रिक्तता छ । भरोसाको कमी छ । निष्ठाको अनिकाल छ । यस्तोमा जो आए पनि, जो शक्तिशाली देखिए पनि लोकतन्त्र बिचरा जुक्तिमै बाँच्नु परिरहन्छ ।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको सन्दर्भमा ‘जुक्ति’ बाट लोकतन्त्र जोगिएको बताएपछि दुनियाँले जुक्ति लोकतन्त्र थाहा पाएका हुन् । तर, जुक्ति लोकतन्त्रलाई फराकिलो क्यानभामा राखेर व्याख्या गर्ने हो भने यो संसद्को गणितलाई अनुकूल गर्ने खेलको शिष्ट संज्ञा हो । जननिर्वाचित शासकले जब आफ्ना दलीय, नश्लीय स्वार्थलाई अदालतको फैसलामा अनूदित गर्न जे जुन नेपथ्यका क्रीडा कौतुक गर्छन्, त्यो जुक्ति लोकतन्त्र हो । बहुमतको बलमा संविधानलाई बलात् थोपर्ने र बन्दुकको भरमा त्यसलाई कार्यान्वयन गर्ने दुस्साहस नै जुक्ति लोकतन्त्र हो ।

सेनालाई जनताका समर्पित सहयोगीभन्दा त्यसलाई ठेकेदार बनाउने तुरूप पछाडि जुक्ति लोकतन्त्रको मनोविज्ञान हुन्छ । जनताको सार्वभौमिकतालाई अवमूल्यन गर्दै कृत्रिम राष्ट्रियताका जयगाथा गाइन्छ, तब त्यो जुक्ति लोकतन्त्रको इतिहास लेखन भइरहेको हुन्छ । जब आन्तरिक उपनिवेश कायम राख्न भूराजनीतिक तुष्टीकरणको खेल खेलिन्छ, तब त्यो जुक्ति लोकतन्त्रको सर्वनाम बन्न पुग्छ । भूगोल हाम्रो छनोट होइन । तर, नीति हाम्रो रोजाइ हो । हामीले आजसम्म के गर्‍यौं ? कहिले एकातिर ढल्क्यौं, कहिले अर्कोतिर झुक्यौं र कहिले बाह्य शक्तिको विवादलाई आन्तरिक राजनीतिमा खपत गरेर तात्कालिक शक्ति सञ्चय गर्नु जुक्ति लोकतन्त्र हो ।

भदौरे चट्याङ त्यसै खसेको थिएन । समकालीन नेपालका यी चुनौतीरहित तीन दलपतिहरूका हर्कतबाट विकसित आर्द्रताको परिणाम थियो, यसमा रत्तिभर किन्तु–परन्तु छैन । तर, दलहरूको हविगत हेर्नुहोस् उनीहरू नै सिंहासनासीन छन् र प्रधानमन्त्री वार्ता गर्न विवश । कम्युनिस्ट–वामपन्थी राजनीतिमा कामरेडहरू कार्यकर्ता र कार्यकर्ताबाट कारिन्दामा कसरी काया फेरिए ? त्यो भेऊ नै पाएनन् । यता कांग्रेसी वृत्तमा दाइ–भाइबाट चेला, चेलाबाट चम्चा र चाकडीबाजहरूमा रूपान्तरण हुँदै आयो ।

यो नै कांग–वाम राजनीतिको शोकांतिका हो । यस्तोमा जतिसुकै गरे पनि हालका दलपतिहरू हल्लिनेवाला छैनन् । र, उनीहरूको हालिमुहाली राजनीति रहुन्जेल कुनै पश्चाताप र आत्मसमीक्षा हुँदैन । यिनीहरूलाई हल्लाउन तम्सिएका उत्साही पुरूषहरू पनि उही आहालमा लडीबुडी गर्ने थप संख्या हुन् । नयाँ शक्तिहरूमा त साथी होइन, भक्तहरूको भीड छ, समर्थक होइन, कट्टरपन्थीहरूको व्यापकता छ । अर्थात् जुक्ति लोकतन्त्रको गोलचक्कर लामो छ । निर्वाचन अभयमा हुन्छ, डरमा होइन ।

राष्ट्रपति, जो आपत्कालीन बत्ती बल्ने संस्था हो, त्यसले जुक्ति झिक्दै तीन प्रमुख दलपति र प्रधानमन्त्रीबीच संवाद सहजीकरण गरेका छन् । दलपतिहरूका मनमा रहेका भित्री चिसोलाई निर्मूल गर्नुपर्ने कार्यभार प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको छ ।

बाहिरी रूपमा हेर्दा पौने पाँच हजार कैदी अझै फरार छन्, करिब सात सय जति हतियार नियन्त्रण बाहिर छ, यसले सुरक्षा चुनौती दिन सक्छ । जसरी आ–आफ्ना दलभित्र यिनीहरूका वर्चस्व हालका लागि सुरक्षित छ, त्यसैगरी यिनीहरूलाई देशाटन गर्न पनि गाह्रो छैन । चुरो कुरा हो– वर्तमान सरकारले ठूला माछाहरू समाउने तयारी गर्नु हुन्न रे ! देहाततिर भनिन्छ नि, कानुन के हाथ बडा लम्बे होते है । दलपतिहरू यी सम्भावित गलपासोबाट त्राण चाहन्छन् । यस्तोमा प्रतिनिधिसभा पुनःस्थापना एउटा चम्किलो आश्रय देखिएको छ यिनीहरूलाई ।

भदौरे चट्याङ अग्ला–अग्ला मुद्दा लिएर अवतीर्ण भयो, तर आफूलाई प्रवक्ता कहलिन चाहनेहरू कोही होचा भए, कोही सतरन्जका प्यादा देखिए । यता तिनका प्रकटीकरणलाई नव–भाष्य दिने चिन्तकहरूको अवस्था आख्यानकी विदुषी विद्योतमासँग विवाहका लागि कालिदासलाई बेहुलाका रूपमा खोजी गरेर ल्याए जस्तो । जसरी विद्योतमासँग मौन वादविवाद हुँदा उनले एक अंगुली देखाउँदा कालिदासले दुई, पाँच अंगुली देखाउँदा कालिदासले मुट्ठी देखाए र यसलाई पण्डितहरूले गम्भीर कथ्य दिएर अर्थ्याइदिए जस्तै देखिएको छ ।

देश त यसरी जुक्तिले बन्दैन । काठमाडौंको आकाशमा पारिलो घाम छ, यता मधेशमाथि कुहिरो व्याप्त । उही विनोदकुमार शुक्लका पंक्ति टुङ्याउनीमा : अपने हिस्से में लोग आकाश देखते है ।

Prev Next