राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न

दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूची कस्तो लाग्यो ?
दलहरूले बुझाएको बन्दसूची अत्यन्तै नमिठो लाग्यो । उनीहरूका कारण समानुपातिक प्रणाली ल्याउनुको मर्म नै स्खलित भएको छ । हिजो पुरानामाथि जेजस्ता प्रश्न उठ्थे, अहिले नयाँ भनिएका दलहरूमाथि पनि तिनै प्रश्न उठिरहेका छन् । यसले नयाँ र पुराना दल एउटै डुंगाका सहयात्री हुन् भन्ने चरितार्थ गरेको छ । दलहरूले समानुपातिक सिट नातेदार, रिसोर्स दिने व्यवसायी, सेलिब्रेटीलगायतलाई बाँडिरहेका छन् । यो प्रणाली चुनाव लड्न नसक्ने, वञ्चितिमा परेका, प्रत्यक्षतर्फ चुनाव लडेर पनि जितेर आउन नसक्ने वर्ग र समुदायका व्यक्तिलाई माथि ल्याउन अपनाइएको हो । तर, यतिखेर दलपतिलाई रिझाएर सम्पन्नहरू माथि आउने चोरबाटो बनाइएको छ यो प्रणालीलाई । 

बारम्बार चौतर्फी प्रश्न उठिरहँदा पनि दलका नेता किन नसच्चिएका होलान् ?
दलका नेतृत्व आफन्तमोहबाट मुक्त हुन सकेका छैनन् । आफूलाई दल चलाउन फन्ड दिने व्यक्तिलाई माथि ल्याउने र पछि परेका वर्ग र समुदायलाई पछाडि नै छाडिराख्ने दलपतिहरूको परम्परा नै बनिसकेको छ । फेरि उनीहरूले भनेजस्तो मान्छे नै भेटिँदैन पनि भन्ने गरेको सुनिन्छ । त्यसका लागि त उनीहरूले नेतृत्व विकास गर्न प्रशिक्षण दिन पनि त सक्थे नि ! समग्रमा हेर्दा उनीहरूले समानुपातिक प्रणालीलाई पार्टी चलाउन फन्ड रेज गर्ने अवसरका रूपमा उपयोग गरिरहेका छन् । 

यो समानुपातिक प्रणालीकै कमजोरी त होइन नि ?
बिल्कुलै होइन । समानुपातिक प्रणाली भनेको लोकतन्त्रकै सुन्दर पक्ष हो । छिमेकी भारतमा लामो प्रयास र छलफलपछि पनि अझै यो प्रणाली अपनाउन सकिएको छैन । हामीले अपनाएको प्रणाली निकै राम्रो भए पनि दलपतिहरूका कारण यो ‘बाँदरका हातमा नरिवल’जस्तो बन्न पुगेको छ ।  

Prev Next