निर्धक्क नेपालका सर्त

सर्वोच्च अदालतमा आगो लगाएर न त न्यायाधीशहरू अचानक सुनको जस्तो टल्किने हुन्, न त सिंहदरबारमा अग्निकाण्ड गरेर त्यसबाट नवकर्मचारीतन्त्र प्रकट हुने हो । तन्त्रमा देखिएको रिक्तता, चूक, अकर्मण्यताको समाप्ति स्वाहा गरेर किमार्थ हुँदैन ।

लोकतन्त्रलाई जब ‘गिरोहतन्त्र’ मा अनूदित गर्न थालियो, तब कुनै कोणबाट धक्का प्रकट हुन्छ भन्ने आकलन भइरहेकै थियो । झन्डै एक शताब्दी लामो संघर्षद्वारा स्थापित जनता बलियो बनाउने लोकतन्त्र संस्थागत हुनुको साटो चेपुवामा पर्न थाल्यो, तब यो दुर्घटनामा पुग्ने अवश्यंभावी देखिन थालिएको थियो ।

आमजनको चेहरा देखेर बताउनेभन्दा हातको चिना देखेर राजनीतिक भविष्य बताउनेहरू शीर्ष तन्त्रमा प्रभावी हुन थाल्यो, तब एक दिन खरानीको खेती गर्नेहरू सलबलाउने निश्चित छ भनेर टिप्पणी सुनिन थालिएकै थियो । उथलपुथल रातारात भएकै होइन । आँधीहुरी दुन्दुभी बजाएर नआए पनि यसको पूर्वसंकेतहरू बाहिरिएकै थियो । सत्ता आत्ममुग्ध भए र छेउछाउकाहरू पूर्वसंकेतलाई प्रशस्ति गान हो भनेर कानेखुसी गर्दै रहे ।

बिग्रियो, नासियो, बर्बाद भयो भनेर कराउन सजिलो छ । गुनासो गर्नु सहज छ । सडकमा कराउनु सरल छ । सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नु पनि कठिन छैन । अरूलाई उक्साउनु पनि गाह्रो छैन । तर सुधारका बाटाहरू पहिल्याउनु सजिलो छैन ।

सुधारका लागि समय चाहिन्छ । सुधारका लागि प्रक्रिया चाहिन्छ । पद्धतिप्रतिको प्रतिबद्धता र खबरदारी चाहिन्छ । नवयुवाहरूका थुप्रै दुःख र समस्याको जड यही हो । त्यसैले द्वन्द्वको मूल्य नेपालले कति चुकाउनुपर्ने हो, अझै राम्ररी अनुमान भएको छैन । न्याय, अधिकार, सार्थक सहभागिता, पारदर्शिता, जवाफदेहिता, प्रक्रिया र संवादसँग सम्बन्धित मूल्य–मान्यता फेरि एक पटक चेपुवामा परेका छन् ।

गाउँघरतिर एक लोककथा प्रचलित छ । कोही नवयुवा जुनेली रातको उज्यालोलाई अञ्जुलीमा राखेर आफ्नो अँध्यारो कोठामा धपक्क ज्योति छर्न खोज्छ । तर कोठामा उज्यालो टिक्दैन । यतिखेर नवयुवाहरू हौसिएर, तम्सिएर असल नियतका साथ कोठामा उज्यालोको खोजी गरिरहेका छन् । उनीहरूका प्रयत्न र प्रतिबद्धताप्रति कुनै प्रश्न छैन । तर नियति कतै ती लोककथाका पात्रजस्तै त हुने होइन भन्ने चिन्ता अवश्य छ । नमीठो अनुभव गर्न पुगिएको छ । यसमा पुनरावलोकन गर्नु जरुरी छ ।

अहिलेको राजनीतिक नेतृत्वसँग असन्तुष्ट हुनुपर्ने मनग्ये कारण छन् । त्यसको प्रशस्त चर्चा भइरहेकै छ । यस प्रसंगमा एक शेर सान्दर्भिक छ– ‘ये फूल मुझे कोई विरासत में मिले हैं, तुमने मेरा काँटो भरा बिस्तर नहीं देखा ।’ जो नेतागण आज आलोचित छन्, तिनले विगतमा लोकतन्त्रका लागि योगदान दिएका छन् । संघीय गणतन्त्रसम्मको यात्रा सहज थिएन । इतिहास क्रूर हुन्छ, यसले नीर–क्षीर विवेचना गर्छ । प्रत्येक शासक आफू शक्तिमा छँदा जतिसुकै जयगान लेखाए पनि इतिहासले श्याम–श्वेत छविको नै अभिलेख राख्छ ।

यो कुरा प्रत्येक क्रान्तिकारीको नियतिसँग पनि गाँसिएको हुन्छ । जनतालाई बलियो बनाउने सवालमा को कहाँसम्म हिँडे र कहाँनिर चुके, त्यसै आधारमा तिनको समग्रतामा मूल्यांकन गरिनुपर्छ । लोकतान्त्रिक राजनीतिमा मूल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छन् । बहुदलीय लोकतन्त्रका लागि लामो संघर्ष गरेका दल वा दलपतिविरुद्ध आक्रोशका स्वरहरू चर्कियो, विस्थापन नै गर्नुपर्ने चुनौती पनि गम्भीर रूपमा बढिरहेको छ । आखिर किन यस्तो भयो ?

नवयुवाहरूले पुराना–नयाँ दल र नेतृत्व पंक्ति मात्र होइन, कार्यकर्तालाई समेत आत्ममन्थन र त्यागका लागि आह्वान गरिरहेका छन् । ‘उत्तर दलपति चरितम’ त लेखिन्छ नै, कार्यकर्ता चरितमको पनि चर्चा गरिनुपर्छ । यसले दलपतिहरूको

फेरिँदै आएको चरित्रलाई मात्र उजागर गर्दैन, दलका सदस्य, हितैषी, मौन सहयोगीसमेतको भूमिका कोर्छ । यी दलहरूको घोषणापत्रमा जे लेखिएको भए पनि यिनका गिरोहहरू दक्षिणपन्थीको अड्डा बनिसकेका थिए । रस्साकसीलाई बुझ्न बहुत मुस्किल छैन अब । नेताहरूले देश डुबाए भनेर कराइरहँदा दलहरूले के–के सपारे र कहाँ–कहाँ सच्चिन जरुरी छ, त्यो पनि विमर्श हुनुपर्छ । किनभने, हाम्रो लोकतन्त्रले दलविहीनताको परिकल्पना गरेको छैन । हामी लोकतन्त्रको नयाँ संस्करणबारे मन्थन गर्नुपर्ने आत्मदबाबमा छौं । केवल पात्र र पार्टी फेरेर मात्रै हुँदैन ।

भविष्यका अनिश्चितताबाट आमजन लगातार चिन्तित छन् । त्यसको कारण के हो भने राजनीतिक संघर्षका नाममा हिंसाको अनुमोदन र प्रतिशोधका नाममा भौतिक आक्रमण । सुदूर देहातसम्मका बासिन्दाहरू डराएका छन् । बर्दी लगाएकाहरू झन् त्रसित छन् । कोही मनका कुरा राख्नबाट हच्किराखेका छन् । को कहाँ कतिखेर आक्रमणमा पर्ने हो भन्ने दुश्चिन्ता छ । यस्तोमा लोकतन्त्र कदापि टुसाउन सक्दैन । भयको प्रसारले लोकतन्त्रलाई केवल उर्ध्वश्वास दिन्छ ।

लोकतन्त्र कुनै अमूक र अमूर्त चीज होइन । यो चाल, चरित्र र चेहराबाट बोल्छ र अस्तित्वबोध पनि गराउँछ । शान्तिपूर्ण परिवर्तनका लागि पात्र, प्रक्रिया र परिणामबीच तारतम्य मिलेको हुनुपर्छ । साधन र साध्यबीच सन्तुलन खोज्छ । उत्तरदायित्व र कर्तव्यबोध साथसाथ रहन्छ । हाम्रो लोकतन्त्र फगत कागजी दस्ताबेजमा सीमित हुन पुग्यो । वास्तवमा हाम्रा समस्या प्रवृत्तिजन्य नै छन् । संविधानका डुंगा हाँक्ने पात्रहरूले पद्धति र प्रक्रियाको मर्म राम्रोसँग आत्मसात् गर्न सकेनन् । प्रत्येक क्षेत्रमा निजी जीवनको सदाचार चाहिन्छ ।

सर्वोच्च अदालतमा आगो लगाएर न त न्यायाधीशहरू अचानक सुनको जस्तो टल्किने हुन्, न त सिंहदरबारमा अग्निकाण्ड गरेर त्यसबाट नवकर्मचारीतन्त्र प्रकट हुने हो । तन्त्रमा देखिएको रिक्तता, चूक, अकर्मण्यताको समाप्ति स्वाहा गरेर किमार्थ हुँदैन । सुधार्न फेरि राजनीतिक नेतृत्वमा नैतिक बल र समर्थन देखाउने दह्रो अठोट नै चाहिन्छ ।

शान्तिपूर्ण तरिकाबाट रूपान्तरण गर्न चाहनेले पात्र होइन, प्रवृत्तिलाई निषेध गर्छ । ०४६ र ०६३ को परिवर्तनपछि यो जित सबैको भनियो । किनभने, संघर्षको अगुवाइ जनताको सन्ततिले गर्दै थियो । तत्कालीन नेतृत्वपंक्ति संवादमुखी थियो । अरू पक्षका पनि कुरा सुन्थे । नयाँ परिवेशमा कसैप्रति प्रतिशोध राखिएन । खुला प्रतिस्पर्धाको राजनीतिमा आउने अनुकूलता दिइयो । नेपाली लोकतन्त्र सहिष्णुता, सामञ्जस्य र संवादको जगमा खडा गर्ने सोच रह्यो । जब यो मौलिक पक्षमा ह्रास आउन थाल्यो, लोकतन्त्र गिरोहतन्त्र भयो ।

हिंसा आधारित राजनीतिको विशेषता के हो भने यसले उदाएका वा भूमिगत रूपमा प्रचारित रहेका नेतृत्वलाई सबै कुरा सम्भव बनाउन सक्ने असीमित शक्ति भएको एक मात्र पात्रका रूपमा प्रस्तुत गरिन्छ । यसका एजेन्डाहरू पारदर्शी हुँदैनन्, यो हुकुमको भरमा हेरफेर चाहन्छ । यो प्रश्न गर्नेलाई प्रतिशोधको घुर्की दिन्छ । यसमा संलग्नहरूको उठबस सन्दिग्ध हुन्छन् । यिनका सपना अधिनायक शैलीमा पूर्ति भएको मानस राख्छन् । कुन काम किन भयो ? यसको जवाफ दिन चाहँदैन । यसले सबै पक्षलाई तर्साएर राख्न चाहन्छ । यसमा अरूलाई दण्डित गर्न हतारो हुन्छ तर आफू उन्मुक्ति चाहन्छ ।

आक्रोश सडकमा त्यसै छताछुल्ल भएन । विगतका जनआन्दोलनहरूपश्चात् पुराना शक्तिहरूले नयाँ विकसित परिस्थितिमा आफूलाई फेरे । निर्दलीयताको कुरा गर्ने पञ्चहरूले पार्टी खोले । संवैधानिक राजतन्त्र घोषणापत्रमा उल्लेख गरे पनि गणतान्त्रिक संविधानको शपथ खाए । अहिले दलहरू आफूभित्र ताजा सुरुवातको दबाबलाई उपेक्षा गर्नु भनेको नवयुवाहरूको नवयुगको खोजीको सपनालाई कुल्चिने धृष्टता गर्नु हो ।

एउटा सानो र संकीर्ण समूहबाट घेरिएर बसेका दलपतिहरू अझै बृहत् त्याग गर्ने पक्षमा छैनन् । यो भनेको जनतासमक्ष वायुपंखी लोकतन्त्रको वाचा विगतमा गर्दै आएकाबाट विमुख हुनु हो र आफ्नो मुहारमा आफैं कालो दल्नु हो । समयको पदचाप नसुन्नेहरू विस्मृत हुन पुग्छन् । परिवर्तनको वेगले कैयौं दललाई प्रजा परिषद्को पंक्तिमा पुर्‍याउँछ ।

जो नवयुवाहरूले भनेको सुन्दैनन्, तिनीहरू नवयुवाहरूका कहर खेप्न अभिशप्त हुन्छन् । नवयुवाहरूका मागमा यस्तो के हो जो सम्भव नहोस्, संवैधानिक नहोस् । नवयुवाहरू घरको दैलोबाट बाहिर आएका छन् र भन्दैछन्– कम–से–कम यति त मानिलिऊँ । नवयुवा जागरण नेपालको लोकतन्त्रको ‘ब्याकग्राउन्ड म्युजिक’ हो । यसको सर्वाधिक उपलब्धि हो, यसले एक प्रकारको जडतामा झट्का दिएको छ । हाम्रो सामर्थ्य र सचेतनाले लोकतन्त्रलाई यसले सुरिलो बनाउन सक्छ ।

‘इतने भले नहीं बन जाना साथी, जितने भले हुआ करते हैं सरकस के हाथी’ वीरेन डंगवालको शब्द । नवयुवाहरूको आलोचना गर्न सकिन्छ । तर, उनीहरूसँग प्रेम गर्न छोड्न सकिँदैन । तिनीहरूसँग प्रेम गर्ने तरिका यो हो कि तिनका काम, कथ्य र करिश्माको आलोचनात्मक विकास होस् । तिनीहरूसँगको परहेजले तपाईंभित्र कुण्ठा र कठोरता ल्याउँछ । भुइँमान्छेको नजरियाबाट नेपाललाई हेर्ने प्रयत्नले संघीयता, समावेशिता र सामञ्जस्यको सान्दर्भिकता बुझिन्छ ।

नेपाली लोकतन्त्रको तीर्थ– कोइराला निवास, गणेमान भवन वा किसुनजी आश्रम भष्म गर्न उद्यत समूहले नै बताउँछ, तिनको अभीष्ट के थियो ? के यो वर्तमानप्रतिको चरम आक्रोश मात्र थियो ? पूर्वमा स्थापित गरिएका मूर्तिहरू वा राजनीतिक संघर्षका प्रतीक परिसरहरू भन्जन किन गरिएको होला ? एउटै प्रवृत्तिका घटनाचक्र विभिन्न हिस्सामा कसरी घटित हुन पुगे ? यो मूर्तिभन्जक चरित्र नवयुवाका आर्गेनिक चरित्र हो भनेर कसरी पत्याउने ?

००७, ०३६ वा ०४६ सालको आन्दोलन यस्तो भयो, जो नेपालका कैयौं पिँढीलाई प्रभावित गर्‍यो, मार्गदर्शन गर्‍यो र आज पनि गरिरहेको छ । आजको नेपाल जस्तो छ, यसमा यी सबै जनसंघर्षको अप्रतिम योगदान छ । ०६३ सालको जनआन्दोलन र त्यसपछिका पूरक आन्दोलनहरूले नेपाली समाज, राजनीति र राज व्यवस्थामाथि अमिट छाप छोड्यो, जो कहिल्यै पनि मेटिँदैन, धमिलो हुन सक्दैन ।

साँचो अर्थमा लोकसत्ता वा भुइँमान्छेको स्वराज्य असत्यमय र हिंस्रक साधनहरूबाट आउन सम्भव हुँदैन । असहमत हुनेहरू सबैलाई दबाएर, दण्डित गरेर वा डर देखाएर हिँड्न खोजियो भने यसले वैयक्तिक स्वतन्त्रताको रक्षा गर्दैन । वैयक्तिक स्वतन्त्रता स्वाभाविक तवरमा तब प्रकट हुन्छ, जब अहिंसामा आधारित शासनले कार्य गर्छ । लोकतन्त्र र हिंसा सँगसँगै हिँड्न सक्दैन । ‘तत्कृष्मो ब्रह्म वो गृहे संज्ञान पुरुषेभ्य’ अर्थात् आऔं, हामी सबै मिलेर यस्तो प्रार्थना गरौं, जसमा नागरिकबीच परस्पर सुमति र सद्भावना बढोस् ।

Prev Next