कसरी हुनसक्छ दलहरूको रूपान्तरण र पुस्तान्तरण ?

जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा कायापलट भएको छ । झण्डै दुईतिहाइको सरकार ढलेको मात्रै छैन, जनताबाट निर्वाचित संसद् बिघटन भएर नयाँ निर्वाचनको घोषणा भएको छ । जनताले निर्वाचित गराएको संस्था जनताकै बलमा ढलेको छ । दलहरूको देखिएको अहं, भ्रष्टाचार र जनताको भावनाप्रतिको बेवास्ताले आजको अवस्था सिर्जना भएको छ । यो निर्णायक घडीमा सत्ता र संसद् मात्रै ढलेको छैन, झण्डै ३ दशक सत्तामा बसेका प्रमुख राजनीतिक दलमा पुस्तान्तरण सहितको रूपान्तरणको चर्को बहस उठेको छ । वर्षौंदेखि एकछत्र नेतृत्व गर्दै आएका नेतालाई छोड भन्दै खबरदारी गर्ने क्रम उनीहरूकै दलका कार्यकर्ता पंक्तिबाट सुरु भएको छ । अर्थात् आजीवन पद ओगटने शैलीप्रतिको आक्रोश जनतामा मात्रै होइन, दलभित्रै पनि देखिएको छ । यसले प्रष्ट पार्छ दलभित्रै, आफ्ना नेतासँग कार्यकर्ता र शुभेच्छुकको आक्रोश वितृष्णा कति रहेछ भन्ने ।

देशमा फेरिएको राजनीतिक वातावरणपछि बुधबार ३० नागरिक अगुवाहरूले प्रमुख राजनीतिक दलका नेतृत्वलाई सक्रिय राजनीतिक जिम्मेवारीबाट अवकाश लिएर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । ‘यो केबल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहान्छौँ,’ अपिलमा भनिएको छ । राजनीतिक दलका नेतालाई ठिक ठाउँमा आउन नागरिक समाजबाट पनि खबरदारी सुरु भएको छ ।

२३–२४ भदौको जेनजी पुस्ताको विद्रोह सफल भई बनेको अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । ऐतिहासिक जनआन्दोलनबाट स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत बनेको संविधानको रक्षाका लागि निर्धारित मितिमा नै निर्वाचन गर्नु आजको राष्ट्रिय दायित्व भएको उनीहरूको भनाइ छ । सरकारले अनुकूल र विश्वसनीय वातावरण सिर्जना गर्नु निर्वाचनका लागि अनिवार्य पूर्वसर्त हो । त्यसैले राजनीतिक दल र आन्दोलनकारी जेनजी समूहहरूसँग संवाद गरी सबैलाई विश्वासमा लिएर निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई अपिल गरिएको छ ।

उनीहरूले अपिलमार्फत भनेका छन्, ‘विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति/अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ । यो केबल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहान्छौँ । निर्वाचनको तयारीमा हामिने बेला दल पुरानै अवस्थामा जाने कि सच्चिएर प्रश्न उठेको छ । पुरानै अवस्थामा जाँदा जनताको वितृष्णाको सामना गर्नुपर्ने चुनौती दलका सामु छ भने, दलभित्रैको आक्रोश कसरी मत्थर पार्ने भन्ने चिन्ता छ ।

दलको संरचनामा मात्रै होइन, प्रवृत्तिमा पनि परिवर्तन हुनपर्छ

मान्छेमा भ्रम के छ भने, जेनजी भनेको अरू नै हो, दलका मान्छे होइन भन्ने छ । त्यो होइन, पार्टीभित्रै जेनजी छ । त्यो समूहले दलभित्रै आफ्नो अवसर र भविष्य देखेको छैन । आफ्नो समूह बनाउन पाएको छैन । त्यो पुस्ताले आफूलाई नेतृत्वको रूपमा विकास गर्न पाएको छैन

इन्द्र अधिकारी

अहिलेको असन्तुष्टिको मुख्य कारण भनेको दलभित्रका प्रमुख नेताहरूको शैली, संस्कार र भूमिकाका कारण देखिएको हो । हामीले थाहा पाउँदादेखि पार्टीको नेतृत्वमा रहेर हालीमुहाली गरिरहेका मान्छे नै नेतृत्वमा जाम भएका कारण अरूले पार्टीमा काम गर्ने अवसर पाएनन् । पहिलो पंक्तिमा रहेका नेताका कारण केही गर्छु भन्ने, नयाँ सोच भएकाले अवसर पाएनन् । अर्को कुरा पार्टीको संरचना, संस्कार, प्रणाली, संगठन, गर्ने कामजस्ता कुरा सबैलाई समेटने खालका हुनुपर्ने हो, भएन । पार्टीका सबैले गर्व गर्ने खालको नेतृत्व हुनुपर्ने हो, भएन । पार्टी भनेको नेतृत्वले दिशानिर्देश गर्ने भएकाले त्यस बारेमा नेतृत्वले सोच्नुपर्ने हो । पार्टीभित्र सबैका भावना, सोच र विचारलाई सम्बोधन हुन सकेन भने असन्तुष्टि पैदा हुन्छ ।

त्यसैले सबैभन्दा पहिला दलभित्रकै युवापुस्तालाई समेटेर जानुपर्छ । मान्छेमा भ्रम के छ भने, जेनजी भनेको अरू नै हो, दलका मान्छे होइन भन्ने छ । त्यो होइन, पार्टीभित्रै जेनजी छ । त्यो समूहले दलभित्रै आफ्नो अवसर र भविष्य देखेको छैन । आफ्नो समूह बनाउन पाएको छैन । त्यो पुस्ताले आफूलाई नेतृत्वको रूपमा विकास गर्न पाएको छैन । त्यसैले गर्दा बेला बेला प्रश्न उठ्ने गरेको छ । दल बाहिर भएकाले त झ न् पार्टी र त्यसको कुनै अनुभूति गर्न पाएकै छैन । त्यो पुस्तासँग भएको क्षमता र बौद्धिकताको कुनै कदर नै नहुने अवस्था भयो । पार्टीभित्र एउटा निश्चित समूह कोटरीभित्रको मान्छेले मात्रै अवसर पाउने अवस्था बन्यो । जनताले सबै हरे । आफू रैती वा प्रजा होइन, नागरिक हौँ, हामीले कुनै अवसर किन नपाउने भन्ने भावना विकास भयो ।

त्यसैले अब दलको संरचनामा मात्रै होइन, प्रवृत्तिमा पनि परिवर्तन हुनपर्छ । दलमा मुख्य नेताको मात्रै हालीमुहाली भयो । नेताले जे चाह्यो त्यही हुने, नेताको छोरा, छोरी, श्रीमती र आफन्तले मात्रै अवसर पाउन अवस्था रह्यो । कुनै आम्दानीको कामै नगरी अर्बौंको सम्पत्ति देखिए । हिजो यस्तै यस्तै कारणले राजाको विरोध गरेर गणतन्त्र ल्यायौँ । फेरि अहिले त्यही चरित्र हुनु भएन भन्ने हो । तर दुर्भाग्य, त्यही चरित्र पार्टीभित्र संस्थागत भयो । त्यसमा दलहरूले सुधार गर्नुपर्ने हुन्छ ।

अब झन् डरलाग्दो अवस्था देखिँदै छ । कुनै विधि प्रक्रिया नचाहिने देखिँदै छ । यो सरकार विषेश परिस्थितिमा बनेको भए पनि सरकार भएपछि त्यसले हरेक काम गर्न विधि विधानअनुसार चल्नुपर्छ । सरकारमा गएपछि प्रतिशोधको अवस्था बन्यो भने ठिक हुँदैन । त्यसैले अब दलहरू पनि जिम्मेवार भएर जानुपर्छ । त्यसका लागि जसरी हुन्छ निर्वाचनको प्रक्रियालाई सफल बनाउन सरकारलाई सहयोग गर्ने र जनताको चाहनाअनुसार अगाडि बढ्नुपर्छ । निर्वाचन सफल बनाउन दलहरू नै जिम्मेवार हुनपर्छ । अर्को तŒव जसलाई घुसपैठिया भनिँदै छ, त्यो निर्वाचन चाहँदैन । त्यसैले निर्वाचन भएन दलहरू फेल भए भने, समस्या हुन्छ । प्रजातन्त्र ल्याउन लडेका दलहरूले यसलाई बलियो बनाउन लाग्नुपर्छ ।

 

 

दलपतिहरूको गिरोहतन्त्रको अन्त्य हुनुपर्छ

प्रत्येक पार्टीमा प्रजातान्त्रिक संरचना छ, त्यसलाई प्रयोग गर्ने र पार्टीमा नयाँ नेतृत्व छनौट गर्ने प्रत्येक पार्टीका विधान छन् त्यसलाई प्रयोग गरेर मार्गप्रशस्त गर्ने र नयाँ नेतृत्व आएर पार्टी चलाउने हो । त्यसका लागि नेताहरूले वातावरण बनाउन पर्छ ।

चन्द्रकिशोर झा

 

कुनै पनि परिवर्तनको मुख्य अंग राजनीति हुन्छ । राजनीतिप्रतिको उत्तरदायित्व र कर्तव्यबोधका साथ अगाडि बढ्दा धेरै कुरा जिम्मेवार हुन्छ । हामीले हिजो लोकतन्त्र त ल्यायौँ तर, लोकतन्त्रलाई संस्थागत गर्नेमा दलहरू चुके । खासगरी यसलाई दलपतिहरूले गिरोहतन्त्रको रूपमा अनुवादित गरे । त्यो गिरोहतन्त्रका कारण आममान्छेमा वितृष्ण पैदा भयो । खासगरी २०४६ र २०६३ पछि परिवर्तित अवस्थामा पुराना शक्तिहरूले आफूलाई फेर्ने वा रूपान्तरित गर्नुपर्ने हो । जसरी २०४६ सालपछि हिजोका निर्दलीयताका कुरा गर्ने पञ्चहरूले पार्टी खोले र २०६३ सालपछि पार्टीको घोषणापत्रमा संवैधानिक राजतन्त्र लेखे पनि गणतान्त्रिक राजनीतिमा समाहित भएर आए ।अहिलेका दलहरूले आफूभित्र रहेको बेथिति र विसंगति सच्याउन अग्रसरता देखाउनुपर्ने हो । अरूको भावना दबाब महसुस गर्नुपर्ने हो । तर, त्यस्तो छनक दलभित्र देखिएन । अब पनि आफ्नै दम्भमा रहेर जनभावना बुझेन भने दलहरू प्रजापरिषद्जस्तो हुन्छन् । अब दलहरूले जनताको भावना बुझेर सुधारको बाटोमा जानुपर्छ । दल र जनताका बीचमा कहाँनिर ग्याप भयो बुझ्नुपर्छ । लोकतन्त्रमा दल चाहिन्छ । पार्टीविहीनताको परिकल्पना गर्न सकिन्न । त्यसैले दल चाहिन्छ र दलले जनताको भावना, समय र आवश्यकता बुझ्नुपर्छ । त्यसो भएन भने दलका लागि पनि हितकर हुँदैन ।

अहिले परिवर्तनको एजेन्डा भनेको सुशासन हो । स्वतन्त्रताको खोजी हो । त्यसका लागि दलहरूले आफूमा अन्तर्समीक्षा गर्नुपर्छ र अगाडि जानुपर्छ । नेताहरूले अब महात्याग गर्नुको विकल्प छैन । उहाँहरूले अहिलेको अवस्था बुझ ेर महात्याग गर्नुपर्छ । नेताहरूले सोच्नुपर्छ, यहाँसम्म पार्टीहरूलाई ल्याएँ, अबको बाटो अरूले हिँडाउने हो भनेर सोच्नुपर्छ । प्रत्येक पार्टीमा प्रजातान्त्रिक संरचना छ, त्यसलाई प्रयोग गर्ने र पार्टीमा नयाँ नेतृत्व छनौट गर्ने प्रत्येक पार्टीका विधान छन् त्यसलाई प्रयोग गरेर मार्गप्रसस्त गर्ने र नयाँ नेतृत्व आएर पार्टी चलाउने हो । त्यसका लागि नेताहरूले वातावरण बनाउनुपर्छ । अबको बाटोमा महाभेल आउन थाल्यो, त्यसलाई पहिरोको रूपमा नहेरेर बाटो छोड्नुपर्छ ।

अहिले दलका दलपतिप्रति जुन किसिमको आक्रोश र आलोचना भइरहेको छ, त्यो आफैँमा सन्तुलित छैन । किनभने, आजको राजनीतिमा जे जति उपलब्धि भएको छ– लोकतन्त्र, गणतन्त्र आयो, संघीयता आयो, समावेशी संरचनामा मुलुक गयो, २०७२ को संविधान बन्यो– यो सबै उपलब्धि र पञ्चायत विरुद्धको संघर्ष गरेर आजको अवस्थामा ल्याएको भनेको अहिलेको नेताहरूले नै हो । त्यसकारण नेतृत्वको पनि सन्तुलित मूल्यांकन गर्नुपर्छ । हिजो उनीहरूले गरेको लगानीकै आधारमा आज हामी बोल्न पाइरहेका छौँ । हिजो लोकतन्त्र थियो र पो सामाजिक सञ्जाल थियो र त्यसको उपभोग ग¥यौँ । तर, आज उनीहरू नै त्यसको व्यवस्थापनमा चुके । त्यसैले नेतृत्वको समग्रमतामा मूल्यांकन गर्नुपर्छ ।

दलहरूले बदलिएको युगको हाँक बुझ्न सकेनन् भने, नेतृत्व आँधिहुरीले बगाएर लान्छ । कसले सोचेको थियो, अहिले कांग्रेसले काँध थामेको गठबन्धनको शक्तिमा रहेको खड्गप्रसाद ओलीको सरकार तासको पत्ताको घर जसरी ढल्ला भनेर कसले चिताएको थियो ? तर, ढल्यो त । त्यसैले दलहरूले अब सोच्नुपर्छ ।

 

नेताहरूको भूमिका फेरिएको हेर्न चाहन्छौँ

अब अहिलेसम्म दल र मुलुकको नेतृत्व गरेर यहाँसम्म ल्याएका नेताहरूलाई धन्यवाद दिँदै अबको नयाँ माहौलमा नयाँ नेतृत्व विकास गर्नुपर्छ । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर शीर्षनेताहरू अभिभावक बनेर बस्नुपर्छ ।

डा. मीना पौडेल

 

आउने दिनमा दलको भूमिकाका बारेमा हाम्रो अपेक्षा भनेको सकारात्मक होस् भन्ने नै हो । अहिले देखिएका समस्या सामाधान गर्न संवादमा आउन् भन्ने हो । पहिलो कुरा, दलहरूले आ–आफ्नो पार्टीभित्र बुढो पुस्ता र युवा पुस्ताका बीचमा संवाद गरेर निकास खोज्नु भन्ने हो । दोस्रो भनेको अहिलेको अन्तरिम सरकार र निर्वाचन आयोगसँग संवादमा आउन् भन्ने हो । त्यसैगरी दलहरूले नागरिक समाजसँग पनि संवाद गरेर सकारात्मक निकास खोज्नेतर्फ सक्रियता देखाउन् भन्ने हो । हामीले चाहेको अहिले मुलुकमा सहज वातावरण बन्नका लागि यहि उपयुक्त हुन्छ । त्यसो गरियो भने प्राप्त उपलब्धिको रक्षा गर्न सकिन्छ । अहिलेसम्मको उपलब्धिमा नेताहरूले खेलेको भूमिका कम छैन । त्यसलाई बचाउन पनि उहाँहरूले सकारात्मक रूपमा सोचेर काम गर्नुपर्छ ।

मुलुकमा रहेको जुन उपलब्धि छ, त्यो ल्याउन निर्णायक भूमिका खेलेका अहिलेकै दलहरूकै नेतृत्वमा भएकाले त्यसलाई गुम्नबाट बचाउन् भन्ने हाम्रो अपेक्षा हो । अहिलेको विकसित अवस्थापछि प्रमुख दलका नेताका कुरा सुन्दा सकारात्मक छ । निर्वाचन तोकिएको अवस्था छ । यसमा नेकपा माओवादीले समयमा नै निर्वाचन होस्, हामी सहयोग गर्छौं भन्ने संकेत गरेको छ । कांग्रेसभित्रका युवा नेताले पनि संवादमा जानुपर्छ भनिरहनुभएको छ । तर, एमालेको अलि अस्पष्ट छ । र, पनि हामीले आशा गरेका छौँ, दलले आफूभित्रको समस्या समाधान गरेर निर्वाचन समयमा नै गराउने वातावरणतर्फ लाग्नुपर्छ । अब निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । त्यसमा दलको साथ र सहभागिता आवश्यक छ ।

हाम्रो जोड भनेको, मुख्य दलहरू अगाडि बढेर अहिलेको अवस्था सम्हाल्ने जिम्मेवारी लिनुपर्छ । अब सबै दलमा पुस्तान्तरणको कुरा उठेको छ । त्यो स्वभाविक पनि छ । अब अहिलेसम्म दल र मुलुकको नेतृत्व गरेर यहाँसम्म ल्याएका नेताहरूलाई धन्यवाद दिँदै अबको नयाँ माहौलमा नयाँ नेतृत्व विकास गर्नुपर्छ । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर शीर्षनेताहरू अभिभावक बनेर बस्नुपर्छ । दलका शीर्ष नेताले नयाँ पुस्तालाई दिशानिर्देश गर्दै काम गर्ने वातावरण बनाइदिनुपर्छ । शीर्षनेताहरूले सक्रिय जिम्मेवारीबाट अभिभावकीय जिम्मेवारीमा जानुपर्छ ।

अब दलहरू ढिला चाँडो सच्चिएर आउनै पर्छ । मुलुकलाई यहाँसम्म ल्याउन भूमिका खेलेका र हिजोका दिनमा जनताले विश्वास गरेका नेताहरूले यसबारेमा सोच्नुहुन्छ । सोच्नुपर्छ । त्यत्रो योगदान दिएर आएका नेताले मुलुकलाई भड्खालोमा हाल्दैनन् भन्नेमा हामीलाई विश्वास छ । तर, अब दलहरू सच्चिने वा नसच्चिने भन्दा पनि आफ्नो नेतृत्वमा भएको परिवर्तनलाई संस्थागत गर्नका लागि फरक भूमिकामा बस्नुपर्छ । मुलुकलाई यहाँसम्म ल्याउन नेतृत्व गर्ने दल र नेतालाई विश्वास नगरेर सम्भव छैन । विश्वास गर्नैपर्छ । उहाँहरूले पनि फरक अवस्थामा जनताका भावना र चाहना बुझेर आफ्नो भूमिका निभाउनुपर्छ । यत्रो भूमिका खेलेको नेतालाई पाखा लगाएर नकाम राखेर हुँदैन । मात्रै उहाँहरूको जिम्मेवारी र भूमिका फेरिएको अवस्थामा हेर्न चाहन्छौँ ।

प्रस्तुतिः चमिना भट्टराई

Prev Next