छिमेकी बिहारबाट एकै समयमा दुई सूचना आयो । एउटा थियो– बिहारको प्रादेशिक निर्वाचनको नतिजा । दोस्रो थियो– एक समाजवादी चिन्तक सच्चिदानन्द सिन्हाको देहावसान । पहिलोको बारे नेपालमा कैयौं कोणबाट चर्चा भइरहेकै छ तर दोस्रोबारेमा सुनिएन । सायद यतिखेर प्रदीप गिरी रहेका भए विस्तारमा बताउँथे होलान् । यी सूचनाहरूमा यथार्थ र मिथक दुवै छ । बिहारको बाछिटाले नेपाल भिज्छ पनि, कतिपय सन्दर्भमा अलग पनि । तर, बिहारले नेपाललाई आकर्षित गरिरहन्छ ।
भारतमा समाजवादी धाराका सबैभन्दा पुरानो स्तम्भ मानिएका सच्चिदानन्द सिन्हा ९८ वर्षका उमेरमा गत साता बिते । उनी भारतीय स्वतन्त्रता संघर्षमा सहभागी पिँढीमध्येका थिए । एक हुनेखाने परिवारमा जन्मिएर पनि श्रमिकका विभिन्न काम गरेर त्यो वर्गको प्रत्यक्ष अनुभव प्राप्त गरेका थिए । पत्याउनै गाह्रो हुने किसिमको सादगी तिनका जीवनमा स्वाभाविक रूपमा व्याप्त मानिन्थ्यो ।
उनी एक स्वशिक्षित एवं स्वनिर्मित व्यक्ति थिए । कैयौं भाषामा दक्खल थियो । उनी आत्मप्रचारभन्दा अलग–थलग बसे । अट्ठाइस वर्षको उमेरमै डा. राममनोहर लोहियाले उनलाई सन् १९५६ मै ‘मैनकाइन्ड’ पत्रिकाको सम्पादक बनाए । उनीसँग डा. अम्बेडकरदेखि जयप्रकाश नारायणसँग काम गरेको अनुभव पनि थियो । भारतीय राजनीतिक चिन्तक योगेन्द्र यादवका शब्दमा, ‘हाम्रो समयको चिन्तनका एक वैकल्पिक मानचित्र ।’ तर, दुर्भाग्यपूर्ण यो थियो कि बिहारका जनताले उनको महत्त्वलाई सम्झेनन् । यी समाजवादी साधुको जिउँदै विस्मरण बिहारी समाजको एक त्रासदी नै देखियो ।
सच्चिदानन्द बिहार मुजफ्फरपुर नजिकको एक मनिका गाउँमा एकदमै कम संसाधनबीच बाँचे । अन्तिम समयसम्म पनि उनको चिन्तनमा प्रखरता छँदै थियो । उनका पुस्तक र आलेखहरूको संग्रह आठ खण्डमा प्रख्यात पत्रकार अरविन्द मोहनको सम्पादनमा निस्किएको छ । यसबाटै उनको लेखन संसार कति व्यापक थियो, बुझ्न सकिन्छ । उनका ‘द इन्टरनल कांलोनी’ (१९७३) एक पुस्तक छ, जसले अविभाजित बिहारलाई एक ‘आन्तरिक उपनिवेश’ का रूपमा चित्रित गर्छ, क्षेत्रीय असमानता माथि महत्त्वपूर्ण विमर्शको सुरुआत गर्छ र केन्द्र सरकारद्वारा बिहार शोषणका रूपमा वर्णित छ । यो पुस्तकले भारतमा क्षेत्रीय असमानता र आर्थिक असमानताका समस्या उजागर गर्छ ।
भारत स्वतन्त्र भएपश्चात् कसरी राज्यद्वारा देशभित्रै आन्तरिक उपनिवेश बनाएर पुँजी र बजारको इसारामा प्राकृतिक संसाधनहरूको दोहन तथा भुइँमान्छेको शोषण र विस्थापन गरियो, त्यसलाई सन् सत्तरीको दशकमा छापिएको यस पुस्तकमा विश्लेषित गरिएको छ । पुँजीवाद, बजारवाद, वैश्वीकरण, उदारीकरण, उपभोक्तावादजस्ता विश्वव्यापी परिघटनाको दूरगामी प्रभावलाई विश्लेषित गर्न, संस्कृति र सभ्यताका विमर्श एवं समाजवादको सैद्धान्तिक पक्षलाई सरल भाषामा आमजनसमक्ष पुर्याउन उनी निरन्तर लागिरहे ।
‘हाम्रो निजी रहनसहन कस्तो होस् ? यसका सामाजिक प्रभावका सम्बन्धमा धेरै विचार गरिँदैन । यस्ता व्यक्तिहरू जो समाज परिवर्तन गर्न चाहन्छन्, समाजबाट गरिबी हटाउन चाहन्छन् र समता ल्याउन चाहन्छन्, स्वयं कसरी बाँच्छन् यसबारेमा सोच्दैनन् । तर हाम्रो रहनसहन र उपभोगको स्तर वास्तवमा एक नितान्त निजी मामिला होइन । यो एक विशेष वातावरणको उपज हो र यसबाट स्वयं एक वातावरण बन्न आउँछ । यो वातावरणले निकै हदसम्म समाजको दिशा प्रभावित गर्छ र यस कुराको पनि निर्धारण गर्छ कि उपलब्ध साधनहरूको उपयोग कसरी हुन्छ ।’ यी कुरा उनीसँग सान्निध्य हुँदा दोहोर्याइरहन्थे ।
सार्वजनिक विमर्शमा व्यक्तिको निजी जीवनशैलीबारे कोट्याउनुलाई सामान्य रूपमा नकारात्मक मानिन्छ तर परिवर्तनको सुरुआत केवल नारा उचाल्नुबाट हुँदैन, व्यक्तिको निजी चर्याबाट प्रारम्भ हुन्छ भन्ने हेक्का राखिँदैन । उनी नेपालका वामपन्थी वा प्रजातन्त्रपन्थीहरू भेट हुँदा तिनीहरूले भन्ने गरेको सुनाउँथे, ‘हाम्रो काम विपन्नहरूको जीवनस्तर माथि उठाउनु छ, स्वयं आफ्नो जीवनको स्तरलाई तल झार्नु होइन ।’
अमेरिकी लेखक जैक लन्दन (१८७६– १९१६ ) को कथा छ– ‘टु बिल्ड अ फायर’ । त्यसमा वर्णन गरिएअनुसार, हिउँले आच्छादित इलाका, जहाँ तापमान जिरो सेल्सियसभन्दा तल गइहाल्छ, एउटा कुकुर गर्मीको खोजीमा हिउँभित्र लुक्न पुग्छ । जब तापमान साँच्चिकै निकै तल झर्न थाल्छ तब हिउँमा पनि न्यानोको अनुभूति हुन्छ । त्यसैगरी बिहारका जनताले नितिश कुमारको राजनीतिमा त्यस्तै गर्मी अनुभूति गरेका छन् । कतिपयले नितिश कुमारको राजनीतिमा ‘यस्तै न्यानोपनको अनुभूति’ भनेर अर्थ्याएका छन् ।
लालूप्रसादको विरासत र नितिश कुमारको निरन्तरतामध्ये एक छनोट गर्दा बिहारका जनताले नितिशलाई रोजे । नितिशले तिनलाई विश्वास दिलाए कि जे जस्तो भए पनि तापमान शून्यभन्दा मुन्तिर जाँदैन । यी आधुनिक बिहारी राजनीतिका प्रतीक पुरुषद्वय जो समाजवादी कहलिने, जयप्रकाश नारायण आन्दोलनका सहयोगी भनेर चिनिने र सामान्य पृष्ठभूमिबाट आएका हुन् । तर, यी दुईमा एक रेखा खिचिएको छ– नितिश कुमारले परिवारवाद गरेनन्, राजनीतिलाई धनार्जनका साधन बनाएनन् । तर, के बिहारका जनताहरू यसलाई लोकतन्त्र लिकमा आएको भनेर मुखर हुन सक्छन् ? सत्तामा फर्किएर पनि नितिश कुमारमाथि प्रश्नहरू तेर्सिएकै छन् ।
निर्वाचन जनताको आवाज हो कि सत्ता समीकरणको मेसिन ? के बिहारी चुनावी परिदृश्यमा जात, वर्चस्व, मतदान केन्द्र प्रवर्द्धन र द्रव्यको प्रभाव आफ्नो सम्पूर्ण शक्तिका साथ मौजुद हुन्छ नै ? निर्वाचनमा सरकारीतन्त्रको वर्चस्व, आपराधिक पृष्ठभूमिकाहरूको सहभागिताजस्ता पक्ष गौण रहेनन् । विकासलाई केवल औद्योगिकीकरण वा सहरीकरणमा होइन, आमजनको क्षमता विकास, आधारभूत ढाँचा निर्माण र महिलाहरूको आर्थिक मजबुतीका कोसिसलाई नितिश कुमारको तुरूपका रूपमा लिइन्छ ।
पछिल्ला करिब चार दशकदेखि क्षेत्रीय राजनीतिले बिहारमा त अगुवाइ नै गर्थ्यो, सँगै संघीय राजनीतिलाई समेत परिभाषित गर्ने तागत राख्थ्यो । तर, यो निर्वाचनले बिहारको क्षेत्रीय राजनीति संकुचनमा पर्दै आएको देखियो । राष्ट्रिय दलसँगको चुनावी सहकार्यमा क्षेत्रीय दलले बिस्तारै आफ्नो अस्तित्व र अस्मिता हराउँदै जान्छ । यसको सबल उदाहरण बिहार देखियो । राष्ट्रिय दलको काँध र कृपामा क्षेत्रीय दल र नेताको उपस्थिति रहने भयो । विविधता बोकेको महादेशजस्तै रहेको भारतमा क्षेत्रीय शक्तिहरू वञ्चित स्वरहरूलाई मुख्य धारामा ल्याउन कारगर थियो । यसले दिल्लीका सत्ताको अनुहारलाई समावेशी बनाउन उत्प्रेरित गर्यो ।
क्षेत्रीय राजनीतिले बिहारमा आफूलाई पुनर्आविष्कार गर्न चुके, उता केन्द्रीय सत्तारूढ भारतीय जनता पार्टीले प्रत्येक चुनावमा स्थानीय रणनीतिलाई जोड दिए । र, भाजपा उत्प्रेरित लाभार्थी योजनाले भुइँ तहमा प्रयोजन सिद्ध गर्न सघायो ।
निर्वाचनले सामाजिक बदलावलाई टेवा दिन्छ भन्ने कुरा छिमेकी बिहार राज्यको प्रादेशिक तहको चुनावले समेत स्थापित गरेको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशभन्दा नितान्त पृथक् संकथन बिहारले देखायो । यस पटक अर्थात् धार्मिक तथा जातीय आधारमा ध्रुवीकरण भएन । आफ्ना तमाम विरोधाभासका माझ बिहार बदलिँदै छ ।
बदलावको गति मन्दजस्तो देखिए पनि यसले बिहारी समाजलाई दीर्घकालिक असर पुर्याइरहेको छ । तर, बिहारको ऐनामा यति मात्रै देखिँदैन । लालुप्रसाद यादव र नितिश कुमार दुवै समाजवादी धाराका हुन् । लालुप्रसादले बिहारको सामन्ती संरचनामा सामाजिक न्यायको महागाथा नै लेखे र यसको सामाजिक, आर्थिक हलचल पनि देखियो । तर, तिनका उत्तराधिकारीले उही बासी रोटी बेच्न खोजे । यता नितिश कुमारले दक्षिणपन्थी काखमा टाँसिएर पनि बिहारमा सामाजिक बदलावका नयाँ मुहार कोरे । नितिश कुमारका तमाम विरोधाभासहरूका माझ बिहार बदलिँदै छ ।
नेपालमा हुने प्रत्येक परिवर्तनको गति एक अवस्थामा गएर जड हुन पुग्छ । ठूल्ठूला नारा र एजेन्डा बोकेर आएको उथलपुथल कालान्तरमा एक गोलचक्करमा पुगेर निरीह हुन्छ वा विलिन । भदौरे चट्याङपश्चात्को छोटो अवधिमै जैक लन्दनका कथाजस्तै नियति पुनरावृत्ति हुने आकलन गर्न थालिएको छ । हिउँभित्रै न्यानो खोज्ने, खोजिनुपर्ने अवस्था विकसित हुँदै छ । नयाँको दाबी गर्ने शक्तिहरू ताजा सुरुआतको विश्वसनीय आधार दिन सकिरहेका छैनन् ।
नेपाली समाजले सबै क्षेत्रमा नयाँ सपना र आकांक्षाले आकार लिऊन् भन्ने चाहेका थिए । तर, छोटो समयमै यथास्थितिका संकेतहरू मुखरित भए । नयाँ पुस्ताका दाबी गर्नेहरूले नयाँ चाल र चरित्र देखाए । यसले गुम्सिएको, निसासिएको परिवेशमा सेफ्टी भल्भको काम गर्थ्यो । तमाम आलोचनाका बाबजुद शेरबहादुर देउवा, खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो मुठी कसेकै छन्, तिनका विरुद्ध मुठी उठाउनेहरूका निमित्त खेल मैदानबाहिर जतिसुकै सिटी र ताली दर्शकदीर्घाबाट गुन्जिए पनि खेलको सम्भाव्य परिणाम हेरफेर हुन सकिरहेको छैन ।
सच्चिदानन्द, जो बिहारमा सत्ताभन्दा टाढा बसेर राजनीतिलाई दियो देखाउँदै रहे, उनलाई सत्ताले लोभ्याउने कम कोसिस गरेन । तर, उनले आफू मैनबत्ती नरहेको स्थापित गरे । उनी शक्तिको रापताप अगाडि पग्लिएनन् । लोकतन्त्र समाज र राज्य दुवैतिर कायम राख्न, कायम गराउन नैतिक सामर्थ्य भएकाहरूको समूह चाहिँदो रहेछ । सन् नब्बेसम्म साइकल चलाउने, समर्थककहाँ बास बस्नेहरू कसरी महँगा गाडीको लस्कर, तारे होटलका स्वीट कोठा र प्रशस्ति गान गर्ने पंक्तिका दास बन्न पुगे ? यहीभित्र भदौरे चट्याङको कारण लुकेको छ ।
सार्वजनिक जीवन बोकेकाहरूको निजी जीवनशैलीले क्रमागत रूपमा परिवर्तनलाई शिथिल बनाउँदै लैजान्छ । आमजनभन्दा आफू भिन्न र अर्को छु भन्ने भावले नै निजी जीवनलाई छोप्न हौस्याउँछ । लुकाएर राखिएको जीवनशैलीले जोकोहीलाई संघर्ष कालभन्दा फरकको मानसमा पुर्याउँछ । प्रत्येक परिवर्तनपछि ‘अगुवा हुँ’ दाबी गर्नेहरू नयाँ–नयाँ सम्भ्रान्तका परिचय बनाउन पुग्छन् । नेपाली जनताको असली लडाइँ नै यही हो ।
परिवर्तन केवल संविधानका धाराहरूमार्फत आख्यानित हुँदैन । जबसम्म प्रत्येक नागरिकले आफ्नो दैनिकीसँग निष्ठा राख्दैन, तबसम्म संघर्ष अन्तिम हुँदैन । एउटा संघर्ष नसकिँदै अर्को संघर्षको जमिन तयार हुन थाल्छ । आदिवासी कवयित्री अनुज लुगुन लेख्छिन्– ‘हम लडते हुए मारे जाएंगे/उन जंगली पगडंडियों में/उन चौराहों में/उन घाटों में/जहाँ जीवन सबसे अधिक सम्भव होगा ।’