जनकपुर : प्रश्नको राजधानी

जनकपुर प्रश्न हो,
उत्तर होइन।
यहाँ सिंहासनभन्दा अग्लो
संशयको स्वर उठ्छ।
 
गर्भमै अष्टावक्रले
पितालाई टोके,
किनकि सत्य
रगतको नाताले मौन हुँदैन।
 
यहाँ पिता पनि प्रश्नयोग्य छन्,
पुत्र पनि।
किनकि जनकपुरमा
कोही पनि प्रश्नभन्दा माथि छैन।
 
जुन दिन
जनकपुरले प्रश्न गर्न छोड्छ,
त्यो दिन मन्दिर बाँकी रहन्छ,
तर विचारको देवता मर्छ।
 
त्यो दिन
जनकपुर शहर होइन,
स्मृतिको भग्नावशेष हुनेछ—
जहाँ मौनता पूजिन्छ,
र चिन्तन निष्कासित हुन्छ।
 
जनकपुर बचाउंनुछ भने,
प्रश्न जोगाउनुपर्छ।
किनकि प्रश्न मर्छ भने
सभ्यता पनि
अन्तिम संस्कार पर्खिरहेकी हुन्छ।

Prev Next